काठमाडौं- लेखक युग पाठक अफ्रिकी, एसियाली र ल्याटिन अमेरिकी लेखक संघको अध्यक्षमा निर्वाचित भएका छन्।
मोरक्कोको रवातमा सम्पन्न संघको नवौं अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। यसअघि सन् २०१६ मा भएको संघको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित भएका थिए। अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालका लागि गौरवपूर्ण चुनौती भएको बताए। विभिन्न युद्ध र गरिबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानका माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
पुस २७ गतेदेखि २९ सम्म चलेको अधिवेशनमा ‘जेरुसेलम अन द वर्ल्ड सिन’ विषयमा अन्तर्क्रिया पनि आयोजना गरिएको थियो। अधिवेशनबाट पारित रवात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति चिन्ता व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।