काठमाडौं– शनिबार सर्वनाम थिएटरमा कविताका साथ चार कवि उभिए।
आभा फर क्रियटिभिटीले आयोजना गरेको 'आभा काव्य लहर–३' मा कवि डा देवी नेपाल, मनोज बोगटी, बिपी अस्तु र सुरज पराजुलीले बोनस कवितासहित ६/६ कविता वाचन गरेका थिए।
कवि डा देवी नेपालले युवा, परिवर्तन, छोरीलाई आह्वान, सुन्दर प्रकृति र भव्य संस्कृति र मित्रलाई सन्देश लगायतका छ वटै छन्द कविता वाचन गरे।
उनले कवितामार्फत् देशप्रेम, राष्ट्रिय एकता र देश निर्माणमा युवा वर्गलाई आह्वान गरेका थिए।
दार्जिलिङका कवि मनोज बोगटीले भने काफरे अमेरिकका, माकुरा र भोक, ईश्वर, कान, नायक, मलाई पनि तिम्रो सम्झना आउँछ लगायतका कविता वाचन गरे।
उनले प्रगतिशील र क्रान्तिचेत भएका कविताबाट सुरु गरी अन्त्यमा प्रेम कविताबाट टुंग्याएका थिए।
त्यसैगरी नयाँ पुस्ताका कवि बिपी अस्तुले विन्दु, समृद्धी, नगरिकता शिविरमा मघुलाल, नखस्नु र हामी त पिरती लाउथ्यौं लगायतका कविता वाचन गरे।
कवि अस्तुका कवितामा सुदूरपश्चिमको दु:ख र थारु संस्कृतिको सुगन्ध भेटिन्थ्यो।
नयाँ पुस्काकै अर्का कवि सुरज पराजुलीले महेश्वा के पान, आह्वान, तरकारी, मुसहर बस्ती, चुपलाग्जस्ता कविता वाचन गरे।
पराजुलीको कविताले मधेस र मधेसी जनजीवन समेटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।