नयाँ दिल्ली (एजेन्सी)- बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको हरर 'गोलमाल अगेन' को सफलताबाट फिल्मको निर्माण टोली हौसिएको छ।
अजय देवगन अभिनीत फिल्म यसै वर्ष आएको 'बाहुबली: द कन्क्लुजन' पछि सर्वाधिक कमाउने प्रोजेक्ट बनेको छ । फिल्मले पहिलो तीन दिनमै ८७ करोड भारु कमाएको थियो।
सफलताको यात्रा नसकिँदै गोलमाल सिरिजको नयाँ फिल्मबारे चर्चा हुन थालेको छ । सफलताबाट उत्साहित हुँदै गोलमाल अगेनका निर्देशक रोहित शेट्टीले फिल्मका कलाकारहरुको साथमा गोलमाल ५ आउने संकेत गरेका छन् ।
निर्देशक र कलाकारहरुले ट्विटरमा भिडियो सेयर गर्दै गोलमाल फिल्मको अर्को फ्रेन्चाइज आउने बताएका हुन् । ट्विटमा लेखिएको छ- 'फिल्मले पाएको प्रतिक्रियाबाट टिम रोमाञ्चित छ । यसरी नै माया दिइरहनुहोला र उनीहरु फेरि फर्कनेछन्।'
रोहित शेट्टीले अजय देवगनलाई लिएर ‘गोलमाल’ सिरिजको चार भाग बनाइसक्दा सबै सुपरहिट भएका छन् । गोलमाल सिरिजको पहिलो फिल्म २००६ मा आएको थियो । एउटै फिल्मको लगातार चौथो भाग आएको बलिउडको यो पहिलो फिल्म हो ।
गोलमाल अगेनमा अजय देवगनका साथै अरशद वारसी, तुषार कपूर, कुणाल केमू, श्रेयस तलपडे, जोनी लिवर, सञ्जय मिश्राले अभिनय गरेका छन्।
अब रोहितले गोलमाल फिल्मको नयाँ सिरिजको औपचारिक घोषणा कहिले गर्छन् र त्यसमा नयाँ के लिएर आउँछन् भन्ने पर्खाइको विषय बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।