काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा जताततै अवरोध हुँदा काम नै प्रभावित भइरहेको बताए।
कोसी करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत धरान उपमहानगरपालिको वडा नम्बर २० मा देखिएको समस्या पहिचान र समाधानका उपाय खोज्न शनिबार धरानमा आयोजित कार्यक्रममा घिसिङले गुनासो गरेका हुन्। सरोकारवालाको उक्त भेलाले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ।
‘हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनलाई सप्तकोसी पार गराउन नदीभित्र ४० मिटर खनेर ७ वटा टावर खडा गर्नु पर्ने जोखिमयुक्त काम छ’, घिसिङले भने, ‘हुँदाहुँदा नदीभित्र टावर खडा गर्न पनि विरोध भइरहेको छ। वनमा, निजी जग्गामा हुँदाहुँदा नदीमा टावर बनाउन विरोध भइरहेको अवस्थामा टावर आकाशमा बनाउने?'
उपमहानगरपालिकाले भनेजस्तै प्रसारण लाइनको रुट परिवर्तन गर्न प्राविधिकरुपमा नमिल्ने उनको भनाइ थियो। ‘उपमहानगपालिकाले उठाएका विषयलाई प्रसारण लाइनले कुनै असर गरेको छैन, यहाँको रुट परिवर्तन गरिएमा यसको प्रभाव मुलुकभर पर्छ। जसले प्रसारण लाइनको मात्रै नभएर मुलुककै विकास ठप्प पार्छ,’ उनले भने।
नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा प्रदेश १ मा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो। प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ।
ती आयोजना निर्माणको विभिन्न चरणमा छन्। प्राधिकरणले प्रसारण लाइन निर्माण गर्न नसकेमा ती आयोजनाबाट उत्पादित विद्युत खेर जाने अवस्था छ।
करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केकी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यसको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ।
दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेब्रुअरी २०२० मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ। यो प्याकेजको अनुमानित लागत २ करोड ५३ लाख डलर छ।
तेस्रो प्याकेजमा वसन्तपुर–ढुंगेसाँघु (ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ। २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२०मा सक्ने लक्ष्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।