हुआवेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई बर्खास्त

नेपाल लाइभ

Nepal Live

बेइजिङ– चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुआवेले पोल्यान्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ।

बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पनीलाई उद्धृत गरी जानकारी गराएको छ।

चिनियाँ व्यवसायीलाई पोल्यान्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको थियो।

‘व्यवसायी पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ,’ चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी)लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी चाहन्छौँ, सम्बन्धित मुलुकहरूले नै सम्बन्धित मुद्दालाई निष्पक्ष र अन्तर्राष्ट्रिय कानूनअनुसार चलाओस् र सम्वद्ध व्यक्तिको वैधानिक अधिकार र हितलाई सुरक्षित गर्न इमानदार प्रयास होस्।’

यसअघि हुआवेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको बताएको थियो।

हुआवेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानुनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ।

पोल्यान्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्यान्डका एक व्यक्तिले चीनका लागि पोल्यान्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ। रासस/एएफपी

प्राप्त प्रतिकृयाहरू

पढ्नै पर्ने