भक्तपुर- नेकपा एमालेले वाम गठबन्धनमा नआए पनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्न नेपाल मजदुर किसान पार्टीलाई आह्वान गरेको छ।
प्रेस चौतारी नेपाल भक्तपुरले गरेको पत्रकार भेटघाटमा एमालेले नेमकिपालाई भक्तपुर जिल्लामा मात्रै भए पनि तालमेल गर्न आह्वान गरेको हो । एमालेका केन्द्रीय सदस्य सोम मिश्र, युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेत र एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले यस्तो आह्वान गरेका हुन्।
एमाले केन्द्रीय सदस्य मिश्रले देशलाई समृद्धितर्फ लैजान वाम गठबन्धन गरिएको बताउँदै नेमकिपा वाम पार्टी भएकाले गठबन्धनमै आउन आग्रह गरे । यस्तै, युवा नेता बस्नेतले चुनावी तालमेलका लागि नेमकिपासँग एमालेले पटकपटक आग्रह गरेको भन्दै प्रस्ताव स्विकार्न आग्रह गरे ।
बस्नेतले केपी ओली प्रधानमन्त्री हुँदा आफ्नो पहलमा पाँच अर्ब रुपैयाँको विकास बजेट भक्तपुरमा भित्र्याइएको जिकिर गर्दै ती रकमले विकासका काम निरन्तर भइरहेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।