नयाँ दिल्ली (एजेन्सी)- सलमान खानको पछिल्लो फिल्म 'ट्युबलाइट' सुपर फ्लप भएपछि उनका प्रशंसकहरु यो वर्ष निकै निराश भए । तिनै प्रशंसकको मुहारमा हाँसो फर्काउन सलमानले आगामी दुई वर्षपछिको उपहार तय गरिसकेका छन्।
सलमानको फिल्म 'भारत' २०१९ को इदमा आउने भएको हो । फिल्मको निर्माता सलमानका ज्वाइँ अतुल अग्निहोत्री रहेका छन् भने निर्देशन अली अब्बाज जफरले गर्नेछन् । बलिउडका व्यापार विश्लेषक तरण आदर्शले ट्विट गर्दै 'भारत' को सुटिङ २०१८ अप्रिलदेखि सुरु हुने जानकारी दिएका छन्।
त्यसअघि सलमान र कैटरिना कैफको फिल्म 'टाइगर जिन्दा है' यसै वर्षको डिसेम्बर २२ मा आउँदै छ । यो फिल्म २०१२ मा आएको हिट फिल्म 'एक था टाइगर' को सिक्वल भएको बताइएको छ । 'एक था टाइगर' कबीर खानले निर्देशन गरेका थिए भने यसको सिक्वल 'सुल्तान' का निर्देशक अली अब्बास जफरले निर्देशन गरेका छन्।
'सुल्तान', 'टाइगर जिन्दा है' हुँदै सलमान र निर्देशक अलीको जोडीले 'भारत' फिल्मबाट सहयात्राको ह्याट्रिक गर्दै छन् । 'भारत' २०१४ मा आएको एक कोरियन फिल्मको एडप्टेसन भएको बताइन्छ।
गत साता सलमानले आफ्नो आगामी फिल्म 'टाइगर जिन्दा है' को रिलिज मिति घोषणा गर्दै प्रशंसकहरुलाई क्रिसमसको उपहार दिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।