धनगढी– सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा शनिबार भएको खेलमा काकडभिट्टाले एपिएफलाई २–१ गोलले पराजित गर्यो।
खेलमा अग्रता भने एपिएफले लियो। नवौं मिनेटमा युवराज खड्काले एपिएफलाई अग्रता दिलाएका थिए। श्याम नेपालीले दिएको पासमा युवराजले बललाई जाली चुमाए।
४१ मिनेटमा विश्वास श्रेष्ठले बराबरी गोल गरे।
खेल सकिन तीन मिनेट समय बाँकी रहँदा काकडभिट्टाले अग्रता लियो। कर्नरमा बलमा रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
काकडभिट्टाका विश्वास श्रेष्ठले म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।
काकडभिट्टाले सेमिफाइनलमा अब रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ। प्रतियोगिताअन्तर्गत आइतबारको मनाङ मर्स्याङदी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।