भोजपुर- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा महिलाको उम्मेदवारी शून्य भएको छ।
भोजपुरमा १२ वटा दलले मनोनयन दर्ता गर्दा महिलाको उम्मेदवारी कुनै दलबाट नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको हो। ३३ प्रतिशत महिला प्रतिनिधित्वको कुरा गर्ने मुख्य दलबाट नै महिला उम्मेदवारी नपरेको हो।
नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि उमेशजंग रायमाझी, भोजपुर क्षेत्र नं १ बाट संघीय समाजवादी फोरमका तर्फबाट अजम्बर राई काङ्माङ र भोजपुर क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट गोविन्दबहादुर कार्कीको उम्मेदवारी परेको छ।
त्यस्तै, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनबाट प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका सुदन किराँती, प्रदेशसभाको लागि भोजपुर क्षेत्र नं १ बाट एमालेका राजेन्द्रकुमार राई र क्षेत्र नं २ बाट एमालेकै शेरधन राईको नाम दर्ता भएको हो।
साना दलबाट प्रतिनिधिसभाका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट चन्द्रप्रसाद राई, नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट डिल्लीराम बोहोरा, नयाँ शक्ति पार्टीबाट युवराज कटुवाल, राजपा नेपालबाट ध्रुवराज राई, संघीय लोकतान्त्रिक मञ्चबाट केदार राई र नेकपा (माले) बाट अनिल बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तैगरी, प्रदेशसभा १ बाट स्वतन्त्रमा खुसीराज गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका मोजेश राईको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।