काठमाडौ- न्यायपालिका अधिकृत समाजद्धारा प्रकाशित पुस्तक न्यायिक आवाज विमोचन गरिएको छ।
सर्वोच्च अदालतमा बिहिबार आयोजित एक कार्यक्रमकमा न्यायिक आवाजको विमोचन गरिएको हो। समाजको आठौं संस्करणका रुपमा प्रकाशित पुस्तकमा न्याय क्षेत्रसँग सम्बन्धित ३५ वटा लेखकका अनुसन्धानात्मक लेखहरु समावेश गरिएको छ। न्याय क्षेत्रसँग सम्बन्धित सैद्धान्तिम मूल्य मान्यता तथा यस क्षेत्रमा काम गर्दाका अभ्यास, अनूभूति र विश्लेषण समावेश गरिएको छ।
पाँच सय बयालिस पृष्ठको न्यायिक आवाज समाजका प्रमुख संरक्षक सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईले विमोचन गरेका हुन्। विमोचनपछि रजिष्ट्रार भट्टराईले समाजबाट प्रकाशित भएको पुस्तकले न्याय र कानुन क्षेत्रसँग सम्बन्धित जिज्ञासा राख्नेहरुका लागि उपयोगी सामाग्री भएको बताए।
कार्यक्रममा समाजका अध्यक्ष महेन्द्रनाथ उपाध्यायले नयाँ संविधान र नयाँ कानुनको कार्यान्वयनका चरणमा रहेको अवस्थामा यसै क्षेत्रलाई समेटिएर प्रकाशित पुस्तक भएकाले महत्वका हिसाबले समसामयिक रहेको बताए। समाजका महासचिव बाबुराम दाहालले न्यायपालिका अधिकृत समाजले न्याय क्षेत्रका अधिकृतको व्यवसायिक क्षमता अभिवृद्धिका लागि काम गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।