काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो दोस्रो खेलमा विकेटविहीन भएका छन्।
बुधबार भएको आफ्नो दोस्रो खेलमा सिल्हेट सिक्सरका बलर सन्दीपले चितागाँउ विकिङ्सविरुद्ध विकेट लिन नसकेका हुन्। यद्यपी उनले कसिलो बलिङ गरे। सन्दीपले ४ ओभरमा २१ रन खर्चिएका थिए। उनले कुनै छक्का दिएनन् भने १ चौका बेहोरे।
सन्दीपले विकेट लिन नसके पनि सिल्हेटले जित हात पारेको छ। सिल्हेटले चितागाँउमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। सिल्हेटले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको चितागाँउले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन मात्र जोड्न सक्यो।
१८औं ओभरको अन्तिम २ बलमा टाक्सिन अहमेदले लगातार २ विकेट लिएपछि खेल चितागाँउको पक्षमा गएको थियो। चितागाँउका लागि रोबी फ्लाइलिङले २४ बलमा नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा सिल्हेटका टाक्सिनले ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सिल्हेटले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो। उसका लागि कप्तान डेभिड वार्नरले ५९ रन र निकोलास पुरानले नटआउट ५२ रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।