लन्डन – स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्। गत सिजन उत्कृष्ट प्रदर्शन गरेको आधारमा रोनाल्डोले अवार्ड जितेका हुन्।
रोनाल्डोको प्रेरणादायी खेलमा रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि जितेको थियो। जापानिज क्लब कासिमा एन्टलर्सविरुद्धको फाइनलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए। उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका थिए।
यो पनि – मेसी र नेइमारलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडीको अवार्ड
रियलले ५ वर्षपछि गत सिजन ला लिगाको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो। ३२ वर्षीय फरवार्ड रोनाल्डोले लिगमा २५ गोल गरेका थिए। उनले लिगका अन्तिम पाँच खेलमा पाँच गोल गरेपछि रियलले ३३औं ला लिगाको उपाधि जितेको थियो।
गत सिजनको युरोपियन च्याम्पियन्स लिग रियलले जित्नुमा पनि रोनाल्डोकै योगदान रह्यो। रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरे। उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए। रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेर इतिहास समेत रचेका थिए। रोनाल्डोले रियलका लागि चौथो पटक च्याम्पियन्स लिगको ट्रफि उचालेका हुन्।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको दौडमा रहेका स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमारले गत सिजन लिगको उपाधि जित्न सकेका थिएनन्। मेसी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए। मेसी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।