लन्डन – स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन्।
सोमबार राति लन्डनमा भएको भव्य समारोहमा रोनाल्डोलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो। योसँगै रोनाल्डोले पाँचौ पटक अवार्ड जितेर बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेसीको कीर्तिमानसँग बराबरी गर्न सफल भए। मेसीले पनि पाँच पटक नै अवार्ड जितेका थिए।
रोनाल्डोले अन्तिम मनोनयनमा रहेका मेसी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमारलाई पछि पार्न सफल भए। गत सिजन रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए।
पुरुष टिमको प्रशिक्षकको अवार्ड रियल म्याड्रिडकै जिनेदिन जिदानले जितेका छन्। जिदानले युभेन्टसका मासिमिनियानो एलेग्री र चेल्सीका एन्टोनियो कोन्टेलाई पछि पारे।
महिला खेलाडीको अवार्ड बार्सिलोनाकी डच खेलाडी लिके मार्टिन्सले जितिन्। उनले फ्लोरिडाकी डेएना कास्टेलानोस (भेनेजुएला) र म्यानचेस्टर सिटीकी कार्ली लोयड (अमेरिका) लाई पछि पारेर अवार्ड हात पारिन्। महिला टिमको प्रशिक्षकको अवार्ड नेदरल्यान्ड्स राष्ट्रिय टिमकी सारिना विग्मानलाई प्रदान गरियो।
उत्कृष्ट गोलकिपरको अवार्ड इटालियन क्लब युभेन्ट्सका बुफोनले हात पारे। उनी अन्तिम मनोनयनमा रहेका रियल म्याड्रिडका केलर नाभास (कोस्टारिका) र वायर्न म्युनिखका म्यानुयल नेउर (जर्मनी) भन्दा उत्कृष्ट बने।
उत्कृष्ट गोल गरे बापत प्रदान गरिने पुस्कस अवार्ड आर्सनलका स्ट्राइकर ओलिभर जिरुडलाई दिइयो। यो अवार्डमा दश जना अन्तिम मनोनयनमा थिए। स्कटिस क्लब सेल्टिकका समर्थकले फ्यान अवार्डको पुरस्कार जिते । फेयर प्ले अवार्ड टोगोका फ्रान्सिस कोनेलाई दिइयो ।
फिफाले विश्वका उत्कृष्ट खेलाडी समेटेर विश्व–११ टिम पनि सार्वजनिक गरेको छ।
विश्व–११ टिम
गोलकिपर – बुफोन
डिफेन्डर – सर्जियो रामोस, बोनोची, मार्सेलो, ड्यानी अल्भेस
मिडफिल्डर – टोनी क्रुस, आन्द्रेस इनिष्टा, लुका मोड्रिक
फरवार्ड – लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, नेइमार
अवार्ड विजेता
पुरुष खेलाडी – क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) – रियल म्याड्रिड
महिला खेलाडी – लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष टिमको प्रशिक्षक – जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक– सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर – बुफोन (इटाली) – युभेन्ट्स
पुस्कस अवार्ड – ओलिभर जिरुड – आर्सनल
फ्यान अवार्ड – सेल्टिक समर्थक
फेयर प्ले अवार्ड – फ्रान्सिस कोने – टोगो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।