सहरजा (एजेन्सी)– श्रीलंकालाई पाँचौ तथा अन्तिम एकदिवसीयमा ९ विकेटले पराजित गर्दै पाकिस्तानले शृंखला ५–० ले ‘क्लिन स्विप’ गरेको छ।
यसअघि भारतसँग पनि ५–० ले ‘वाइटवास’ बेहोरेको थियो। श्रीलंकाको एकदिवसीयमा यो लगातार १२ औं पराजय हो।
श्रीलंकाले पहिलो इनिङमा दिएको १ सय ४ रनको चुनौतीलाई पाकिस्तानले २० दशमलव २ ओभरमा १ विकेट गुमाउँदै पुरा गर्यो। पाकिस्तानका प्रारम्भिक ब्याट्सम्यान इमाम–उल–हकले अविजित ४५ र फकर जमानले ४८ रन बनाएपछि श्रीलंका सहजै पराजित बन्यो।
यसअघि ७ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिएका उसमान खान ‘म्यान अफ दि म्याच’ घोषित भए। ‘प्लेयर अफ दि सिरिज’ हसन अलीलाई घोषित गरियो।
सोमबार युनाइटेड अरब इमिरेट्स (युएई) को सहरजामा भएको खेलमा श्रीलंकाले पाकिस्तानी बलर उसमान खानको बलिङ अगाडि घुँडा टेकेको छ।
श्रीलंका २६ दशमलव २ ओभरमा १ सय ३ रन बनाएर अल–आउट भयो। श्रीलंकाका लागि थिसारा परेराले पुछारमा बनाएको २५ रन नै सर्वाधिक थियो। लाहिरु थिरिमानेले १९ र सिकुज प्रसन्नाले १६ रन बनाएका थिए। चमेराले पनि पुछारमा ११ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।