काठमाडौं- समालोचक, अनुवादक एवं कवि महेश पौड्याललाई ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ प्रदान गरिने भएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको पुरस्कार पौड्याललाई प्रदान गर्ने भएको हो।
प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। सुदीश निरौला ट्रष्टका संस्थापक टेकमाया निरौलाका अनुसार पुरस्कारको राशि रु १५ हजार रहेको छ।
टेकमायाका दिवंगत छोरा सुदीशका नाममा उक्त पुरस्कार स्थापना गरिएको हो। निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो। इञ्जिनीयर निरौला साहित्यप्रति रुचि राख्नुका साथै कवितासमेत लेख्थे।
उक्त पुरस्कार आगामी माघ ६ गते विराटनगरमा प्रदान गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए।
पुरस्कृत हुन लागेका पौड्यालका विभिन्न विधाका तीन दर्जन पुस्तक प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।