काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिस्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्।
सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दीव्यमणि राजभण्डारीले प्रवेश गराएपछि स्पष्टीकरण दिँदै उनले सो कुरा बताएका हुन्।
नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दाबी गरे। 'समिटमा सहभागी भएको विषयलाई लिएर ममाथि कुत्सित मनासाय राख्ने काम भइरहेको छ। ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन म ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्ट पार्न चाहन्छु,' समितिको बैठकमा नेता नेपालले स्पष्टीकरण दिए।
वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे।
सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।