गीतकार उपाध्यायका ७ गीति एल्बम र उपन्यास लाेकार्पण

नेपाल लाइभ | २०७५ पौष २२ आइतबार | Sunday, January 06, 2019 १८:५७:०० मा प्रकाशित

काठमाडौं– गीतकार डा डीआर उपाध्यायको सात गीति एल्बम् र उपन्यास लोकार्पण गरिएको छ।

आइतबार पद्मदीप स्मृति प्रतिष्ठान काठमाडौंको मुख्य आयोजना र साहित्यिक तथा सांगितिक संघसंस्थासँगको सहकार्यमा सञ्चालन गरिएको पूर्वपश्चिम साहित्यिक तथा विमर्श अभियान समापनका साथै उपाध्ययको गीति एल्बम् र उपन्यास ‘दगाबाज’ लोकार्पण गरिएको हो। 

उपाध्यायको लेखन रहेको सातवटा एल्बममा संगीतकार बुलु मुकारुङ, सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘सरद’ ले संगीत दिएका छन्। 

साहित्यकार तथा गीतकार उपाध्यायले केही समयअघि नेपाली एल्बम् प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका हुन्। उनको उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ लोकार्पण गरिएका हुन्।

यसअघि उपाध्यायका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता बजारमा आइसकेका छन्। उनको पहिलो गीति एल्बम् ‘प्रणय’ हो। 

समापन गरिएको उक्त अभियानलाई नेपालको पूर्व क्षेत्रमा सिन्धुली, धनकुटा, इटहरी, विराटनगर, इलाम, विर्तामोड, दमक, बर्दिबास र हेटौंडामा सञ्चालन गरिएको थियो भने पश्चिममा चितवनबाट सुरु गरि बुटवल, दाङ घोराही, तुलसीपुर, कोहलपुर, सुर्खेत, धनगढी, कञ्चनपुर, पोखरा र गोरखामा सञ्चालन गरिएको थियो।