इनरुवा– चरा र अर्नाका लागि प्रसिद्ध मानिने कोसीटप्पु वन्यजन्तु आरक्षको सीमसार क्षेत्रमा पाइने जलपंक्षीको गणना शनिबारबाट सुरु भएको छ।
सीमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन कोसीटप्पु र यस आसपासका इलाकामा जलपंक्षी (पानी चरा)को गणना सुरु भएको कोसी पंक्षी समाज प्रकाशपुर सुनसरीका संयोजक अनिश तिम्सिनाले बताए।
कोसी पंक्षी समाज, हिमाली प्रकृति, नेपाल पंक्षीविद् सङ्घ र कोसीटप्पु वन्यजन्तु आरक्षको अगुवाइमा पानी चराको गणना सुरु भएको हो। प्रत्येक वर्षको पहिलो अङ्ग्रेजी महिना जनवरीमा गरिँदै आएको चरा गणना यस वर्ष शनिबारदेखि सुरु गरिएको हो। गणनाको पहिलो दिन चतराको सप्तकोसी नदीदेखि कोसीटप्पु वन्यजन्तु आरक्षको उत्तरी सिमाना प्रकाशपुरसम्म गणना गरिएको तिम्सिनाले जानकारी दिए।
चराको वास्तविक अवस्था पत्ता लगाई यसको संरक्षणका लागि आगामी रणनीति तयार गर्न सरकारलाई सहयोग गर्ने उद्देश्यले चराको गणना सुरु गरेको कोसी पंक्षी समाजका सहसचिव सञ्जीव आचार्यले बताए।
सुनसरीको चतराबाट सुरु गरिएको चरा गणना कोसीटप्पु आसपासका क्षेत्रमा पाँच दिनसम्म चल्ने बताइएको छ।
कोसीटप्पु आसपासका क्षेत्रमा चराको काम गर्दै आएका दुई समूहमा गरी जम्मा १४ जनाको टोलीले चराको गणना गर्ने चरा गणना समूहका संयोजकसमेत रहेका तिम्सिनाले बताए।
चरा गणनाका लागि टोलीले डुङ्गा, जिप सफारी, क्यामेरा, दूरबिन, टेलिस्कोपलगायतका यन्त्र प्रयोग गर्ने छ। कोसीटप्पुमा विगत सात वर्षदेखि पानी चरा गणना गरिँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।