काठमाडौं- क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘बारुदमाथि उड्दा’ सार्वजनिक भएको छ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज पुस्तकको विमोचन गरे।
तत्कालीन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छटपटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमगिएको समयको चित्र पुस्तकमा उतारेका छन्।
रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमण लगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिक अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा छ।
'ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन, फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकोप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए,' खारामा गरेको जोखिमपूर्ण हेलिकप्टर अवतरण र त्यहाँको दृश्य वर्णनबारे लेखिएको छ, 'हृदयविदारक अवस्था थियो, केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ।'
पत्रकार राजाराम गौतमले सम्पादन गरेको पुस्तकलाई बुक हिल पब्लिकेसनले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।