ऐना हेर्यो कि
मलाई ऐना हुन मन लाग्छ
पुछपाछ पारेर हृदयको फोहोरमैला
टिलिक्क बनाएर आचरण
मलाई ऐना हुन मन लाग्छ
चर्कियो भनेपनि ऐना एकाएक
कुनै माकुराको जालो पछाडि छु जस्तो लाग्छ
तर देखाउन छाड्दैन रिसले कसैको अनुहार
र ढाँट्न जान्दैन ऐनाले कसैलाई
ऐनाको यो आदत खुब मनपर्छ
मलाई ऐना हुन मन लाग्छ
त्यही ऐनाको आयतनमा राखेर आफूलाई
मजस्तै मान्छेले दाह्री काट्छ
मजस्तै मान्छेले जुँगा मिलाउँछ
कपाल कोर्छ
क्रिम घस्छ
र यो जिन्दगी नामक चलचित्रमा
आफू बाँचेको अभिनय गर्छ
मैले यही ऐनाबाट सिकेको हुँ
समाजको ऐना हेर्न
देशको ऐना हेर्न
सिङ्गै संसारको ऐना हेर्न
र ऐना देखाउन
फगत
ऐना त रूखले पनि हेर्छ
आफूमुनिको शान्त तलाउमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।