विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिदका दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले वाइडबडी विमान खरिद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारबाहीको सिफारिस गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे।
सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने उल्लेख गरे। उनले निर्मला पन्तको बलात्कारपछि हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको धारणा व्यक्त गरे।
प्रमाण मेटाएर नै अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै उनले निर्मलाको परिवारले न्याय नपाएसम्म कांग्रेसले यो मुद्दालाई नछोड्ने प्रतिबद्धता व्यक्त गरे।
फरक प्रसंगमा सभापति देउवाले कांग्रेसको आगामी महाधिवेशन तोकिएको मितिमै हुने प्रष्ट पार्दै ‘अर्ली महाधिवेशन’ सम्बन्धी कुरा उठेको सम्बन्धमा जानकारी नभएको बताए।
कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उनले डरत्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।