काठमाडाैं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताएका छन्।
मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको संकट झनै बढेर जाने पनि स्पष्ट पारे।
शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले रासायनिक मलको अभाव हुन नदिन देशका मुख्य–मुख्य पाँच सहरमा गोदाम स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए। उनले साेका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अर्थ मन्त्रालयसँग आग्रह गरे।
मन्त्री खनालले मलका लागि छुट्टयाइएको ६ अर्ब बजेट खर्च भइसकेकाे जनाउँदै थप मल ल्याउनका लागि अर्थ मन्त्रालयसँग बजेटको माग गरिएको पनि समितिमा जानकारी गराए।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मलको अभाव हुन नदिन वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा गोदाम स्थापना गर्ने योजना बनाएको छ। तर, त्यसलाई कार्यान्वयनमा लैजान बजेटको अभाव रहेको पनि मन्त्री खनालको भनाइ छ।
यता, अर्थमन्त्री डा युवराज खतिवडाले भने मुलुकमा मलको अभाव हुन नदिन सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि पहल गरिरहेको बताए।
समितिको बैठकमा अर्थमन्त्री खतिवडाले रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन प्रयास गरिरहेको उल्लेख गर्दै आगामी चैत्र १५ र १६ गते आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’मा पनि सो कारखाना स्थापनाका लागि आर्थिक सहायता जुटाउन पहल गर्ने योजना अघि सारे।
निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमै रासायनिक मलको कारखाना खोल्दा मलको अभाव नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ। अर्थमन्त्री खतिवडाले मलमा किसानलाई दिइएको अनुदान सहायता दुरुपयोग हुने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले किसानलाई मलको अभाव हुन नदिने गरी आयात गर्न कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाए। उनले छोटो प्रक्रियाबाट मल आयात गर्ने 'मोडालिटी'का विषयमा विज्ञहरुसँग आवश्यक छलफल गरेर कार्ययोजना तय गर्न पनि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई आग्रह गरे।
मलको अभाव बढ्दै गइरहेका बेला कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सो समस्या समाधानका लागि पहल गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई छलफलका लागि बोलाएको हो। बैठकमा समितिका सदस्यहरुले कृषकहरुको माग अनुसारको मलको व्यवस्था गर्न सरकारलाई गम्भीर भएर लागिपर्न सचेत गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।