मिक्लाजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताएका छन्।
पूर्वी नेपालका चार जिल्ला जोड्ने भेडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ।' सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइने उनले बताए।
निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए।
कोसी नदीमा पानीजहाज चलाउने प्रक्रियासमेत अघि बढेको उनको भनाइ थियो। 'पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ। यो कुनै मजाकको विषय होइन,' उनले भने।
विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे। आजै उद्घाटन भएको पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनबाट बिजुली बलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।