काठमाडौं– जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरूमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र सामन्यायिक बाडँफाँटसम्बन्धी नागोया अभिसन्धि सम्मिलनमा नेपाल सहभागी हुन लागेको छ।
आनुवंशिक स्रोत र सोसँग सम्बन्धित परम्परागत ज्ञानको उपयोगबाट प्राप्त लाभको निष्पक्ष र सामन्यायिक बाँडफाँट गरी जैविक विविधताको संरक्षण र दिगो उपयोगबाट योगदान पुर्याउनु यस अभिसन्धिको मुख्य उदेश्य रहेको छ।
यो अभिसन्धिमा सम्मिलनपश्चात् नेपालको जैविक तथा आनुवंशिक स्रोत र परम्परागत ज्ञानमा पहुँच तथा उपयोगमा कानुनी निश्चितता बढ्ने छ। यस अभिसन्धिको पक्ष राष्ट्र नभएको अवस्थामा नेपालमा रहेका जैविक विविधता र त्यसको आनुवंशिक स्रोतलाई अन्य देशले अन्तर्राष्ट्रिय बजारमा प्रयोग गरेको खण्डमा नेपालले त्यसको दाबी गर्न पाउँदैन। त्यसैले पनि यो अभिसन्धि नेपालजस्तो जैविक विविधताले धनी राष्ट्रलाई महत्वपूर्ण हुने वन मन्त्रालयका अधिकारी बताउँछन्।
यस्तै, अभिसन्धिमा सम्मिलनपश्चात् नेपालमा उपलब्ध आनुवंशिक स्रोतको उपयोगसम्बन्धी कानुनको अभावलाई निराकरण गर्दै अन्तर्राष्ट्रिय मान्यताअनुसारको कानुन निर्माणमा सहजता आउने मन्त्रालयको दाबी छ।
तर, अभिसन्धिको पक्ष राष्ट्र भएसँगै नेपालले अन्य दायित्वसँगै आनुवंशिक स्रोतको दिगो उपयोगमा अन्तर्राष्ट्रिय समुदायलाई सहजीकरण गर्नुपर्नेछ।
जैविक विविधता महासन्धि सन् १९९३ को वातावरण र विकासम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनबाट पारित भएको थियो। महासन्धिका ३ वटा उद्देश्यहरूमा जैविक विविधताको संरक्षण, यसका सम्पूर्ण आङ्गहरूको दीगो उपयोग र आनुवंशिक स्रोतहरूमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र सामन्यायिक बाँडफाँट रहेको छ।
अभिसन्धिको पक्ष राष्ट्रको रुपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समयअघि अमेरिका भ्रमणमा रहँदा यस सम्मिलनमा हस्ताक्षर गरेका थिए। सम्मिलनमा हस्ताक्षर गरेको ९० दिनपछि नेपालले यसको सदस्यता प्राप्त गर्ने न्यूर्योकस्थित नेपाली स्थायी नियोगले जनाएको छ।
नागोया अभिसन्धिको अवधारणा सन् २०१० मा जापानबाट सुरु भएको थियो भने त्यसको कार्यान्वयन सन् २०१४ बाट सुरु भएको हो। अभिसन्धि कार्यान्वयन भएको ४ वर्षपछि नेपाल यसको पक्ष राष्ट्र हुन लागेको हो।
अभिसन्धिको पक्षमा नेपाल रहनुपर्ने विषयलाई प्रतिनिधिसभा र राष्ट्रियसभाले समेत पारित गरिसकेको छ। नेपाल यो अभिसन्धिको पक्ष राष्ट्र हुने ११६औँ राष्ट्र हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।