काठमाडौं- कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा जेल सजाय भोगिरहेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीकी श्रीमतीले ३४ हजार ३ सय ४१ जनाले आफ्ना श्रीमान्लाई निर्दोष सावित गरिसकेकाले अदालतले पनि निर्दोष सावित गर्ने आशा व्यक्त गरेकी छन्।
सपथ ग्रहणपछि कुरा गर्दै चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ (चौधरी)ले खुसी व्यक्त गर्दै सरकार र राजपाबीच चौधरीलाई सपथ गराउने बारे आफूलाई बिहान ११ बजे मात्र थाहा भएको बताइन्।
सपथपछि पुुनः कारागार जान लागेका श्रीमानका विषयमा कुरा गर्दै उनले भनिन् ‘दोषी हो भने कारबाही गर्नुस्। दोषी हैन भने न्याय दिनुस्।’
चौधरीमाथि लागेका मुद्दा नै हास्यास्पद भएको उनको तर्क थियो। उनले भनिन्, ‘टीकापुर घटनामा मेरो पनि सामान चोरी भएको छ। चोरीको मुद्दा त मैले लगाउनु पर्ने हो। पाँच वर्षको बच्चाले पढ्ने पुस्तकमा आगलागी भएको छ।’
टीकापुरमा सँधै नै सद्भाव चाहेको बताउँदै उनले भनिन्, ‘टीकापुरबासीले रेशम निर्दोष भनिसक्नु भएको छ।’ जेलमा रहेको समयमा कुरा हुँदा धैर्य गर्न श्रीमानले आग्रह गरेको उनले बताइन्। उनले भनिन्,‘विजयी भएको एक वर्षमा सपथ भयो, रिहा पनि छिट्टै हुनुहुन्छ।’
एक छाेराका साथ रञ्जिता काठमाडौं बस्दै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।