काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपनेता सुवास नेम्वाङले रेशम चौधरीको सपथ ग्रहण स्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।
चौधरीको सपथ ग्रहणपछि नेकपा संसदीय दलको कार्यालयमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदै नेता नेम्वाङले चौधरीको सपथ स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे। निर्वाचनमा लड्दा प्रक्रियाले नरोकेकाले त्यही निर्वाचनबाट निर्वाचित सांसदलाई सपथ गराउनु स्वाभाविक भएको उनको तर्क थियो।
चौधरी प्रतिनिधिसभाको निर्वाचनका बेला नै प्रहरीको फरार सूचीमा थिए। वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका चौधरीलाई निर्वाचित सांसदको हैसियतले जनमत अनुसार सपथ गराइएको उनले स्पष्ट पारे। अदालतबाट अपराधी हो भनेर सजाय गरेको अवस्था नभएकाले कानुनसम्मत चौधरीलाई सपथ गराइएको उनको भनाइ छ।
'उहाँ जतिबेला उठ्नुभयो, त्यति बेला हाम्रो प्रक्रियाले रोकेन। प्रक्रियाले नरोकेको ठिक भो कि गलत? त्यो पनि छलफलको विषय होला। उहाँले निर्वाचन लड्न पाउनु भो। निर्वाचन लडिसकेपछाडि जनताको जनादेश प्राप्त भो,' नेम्वाङले भने, 'जनताको जनादेश प्राप्त गरिसकेपछाडि उहाँ माननीय सदस्य हुनुभयो। त्यसैले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेर सभामुख ज्युबाट उहाँले सपथ ग्रहण गर्नुभएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।