काठमाडौं- टीकापुर काण्डको मुख्य योजनाकारको आरोप लागेका रेशम चौधरीलाई सांसद पदको सपथप्रति प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले चौधरीको सपथले कानुनी राज्यको खिल्ली उडाएको बताएका हुन्। शर्माले ट्वीट गर्दै भनेका छन्, 'संवैधानिक सर्वोच्चता साझा सहमति र मुलुकको अग्रगतिको मुल बाटो हो l निश्चित दल विशेषको सरकारलाई गणितीय बल थप्ने नाममा यो दायरा उल्लंघन गरिनु नैतिक र राजनैतिक दुवै कोणबाट गलत छ!'
अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपिलाई ताजपोशी गराउने तयारीले कानुनी राज्यको खिल्ली उडाएको ठहर उनको छ।
चौधरीलाई सभामुख कृष्णबहादुर महराले आफ्नै कार्यकक्षमा आजै पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम छ।
थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा एक नाबालकसहित ८ जनाको मृत्यु हुनेगरी २०७२ भदौ ७ मा सो हत्याकाण्ड भएको थियो।
चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनता पार्टी (राजपा) बाट विजयी भएका थिए। सांसद पदमा निर्वाचित भए पनि हत्या आरोप लागेका उनलाई हालसम्म पनि सपथ नगराइएको भन्दै चौधरीको रिहाइ तथा सपथलाई राजपाले आफ्नो प्रतिष्ठाको लडाइँ बनाएको थियो।
संसदको हिउँदे अधिवेशन बस्नु एक दिनअघि मात्रै (पुस १०) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजपाले चौधरीको रिहाइ तथा सपथ खुवाउन सरकारलाई ७ दिनको म्याद दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।