काठमाडौ- संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएका सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई नेकपाका सांसदहरुले महाअभियोग लगाउने चेतावनी दिएका छन्। सुनुवाईका क्रममा अन्तिम प्रश्न गर्दै नेकपाका सांसद्हरुले महआभियोगको विकल्पमा जान संसद खुल्ला रहेको चेतावनी दिएका थिए।
आइतबार र मंगलबार सुनुवाईका क्रममा नेकपाका सांसदहरुले राणालाई घुमाउँरो पारामा कार्यसम्पादन चित्त बुझ्दो नभएमा वा न्यायमा विचलन देखिएमा महाअभियोग लगाउने सक्ने चेतावनी दिएका हुन्। आइतबार नेकपाका सांसद् योगेश भट्टराईले संसदीय सुनुवाईबाट अनुमोदन भएपछि सबै ढोका पार भएको नसोचे हुन्छ भन्दै महाअभियोग लगाउने चेतावनी दिएका थिए। मंगलबार नेकपाकै सांसद सुरेन्द्र पाण्डे र अर्का सांसद निरुदेवी पालले समेत यस्तो चेतावनी दिइन्।
‘पछिल्ला दिनमा प्रधान्यायाधीश जस्तो पदमा सिफारिस भएका न्यायाधीशहरू अस्वीकृत हुनेदेखि पदमा रहेकाहरुलाई महाअभियोग लाग्नेसम्मका घटना भएको कुरा यहाँलाई अवगतै होला’ पाण्डेले भने, ‘ यसले दुईवटै कुरालाई संकेत गरेको छ। आगामी दिनमा यो कुरालाई ख्यालमा राखी कार्यसम्पादन हुने आशा गरेका छौ।’
अदालतका बारेमा प्रश्न उठ्ने तर समाधान नहुने हुँदै आएको भन्दै उनले महाअभियोग जस्तो कठिन विकल्पमा प्रवेश गर्नु परेको अवस्था अब सुधार हुनुपर्ने बताएका थिए। ‘सांसद जनताबाट भोट नदिँदा अस्वीकृत हुन्छन्। तर न्यायाधीशका लागि महाअभियोग मात्र विकल्प हुन्छ, यस्तो पदमा नियुक्त गर्न हामी बाध्य हुन परेको छ।’ मानिस कामका आधारमा निर्माण हुने भन्दै उनले यहाँ राम्रा र नराम्रा दुबै प्रश्न उठेको ख्याल गर्न सुझाब दिए।
यसअघि सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो। सत्तारुढ दलहरुले दर्ता गरेको उक्त महाअभियोग कार्यान्वयन नर्गन समेत राणाकै इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।