काठमाडौं- भूकम्पबाट भएको क्षति पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा तेस्रो पटक प्रमुख कार्यकारी अधिकृत (सिइओ) परिर्वतन हुने भएको छ।
यसअघि सुशील ज्ञवाली र गोविन्द पोखरेल नेतृत्वमा रहेको प्राधिकरणमा युवराज भुसाल आउने निश्चित भएको छ।
प्युठानबाट प्रतिनिधिसभाको निर्वाचनका लागि नाम सिफारिस भएपछि कार्यवाहक सिइओ पोखरेलले राजीनामा दिएका थिए। उनले दिएको राजीनामा सोमबारको मन्त्रिपरिषद बैठकले स्वीकृत गर्दै उक्त पदमा भुसाललाई नियुक्त गर्न लागेको हो।
भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्। उनी यसअघि पनि पटकपटक सरकारी लाभको पदमा पुगेका थिए। पौडेलको सम्धी भएकै कारण अर्थ सचिवबाट अवकाश पाएको २०७१ साल साउन ९ गते प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा नियुक्ति पाएका थिए। अर्थ मन्त्रालयमा सचिव समेत भएका भुसालले राजनीतिक नियुक्ति पाएको दोस्रो पटक हो।
पूर्व सचिव भुसाल पोखरेल नियुक्त हुने समयमा पनि सिइओ हुने दौडमा थिए। तर उनी अन्तिममा असफल भए।
२०७३ पुसमा सरकारले प्राधिकरणका सिइओ ज्ञवालीलाई बर्खास्त गरेको थियो। उनको बर्खास्तीपछि मन्त्रिपरिषद् बैठकले नयाँ सिइओमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणसम्बन्धी ऐनअनुसार ज्ञवालीलाई नियुक्त गरेका थिए। ऐनको दफा ११ (३) ले ऐनअनुसार प्रमुख कार्यकारीको अवधि पाँच वर्षको हुने र एक वर्ष थप गर्न सक्ने व्यवस्था गरेको छ। तर चित्तबुझ्दो काम नगरेमा हटाउने पनि सोही ऐनले दिएको छ। यही कानुनलाई आधार मानेर कांग्रेस–माओवादी गठबन्धनले ज्ञवालीलाई हटाएको थियो। तर पोखरेलले भने आफैले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।