राजविराज– पत्रकारलाई जुत्ता हान्ने धम्की दिएर चर्चामा आएका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले आफ्ना शब्द फिर्ता लिएका छन्।
मन्त्री साहले सोमबार प्रेस विज्ञप्ति जारी गरी आफ्नो मनसाय कुनै सञ्चारकर्मी तथा संचार माध्यमलाई ठेस पुर्याउने नरहेको बताउँदै आफ्ना शब्द जस्ताको तस्तै फिर्ता लिएको बताएका छन्।
जनकपुरमा भएका सांसदले पनि घरभाडा बापतको रकम बुझेको विषयमा गलत समाचार लेख्ने पत्रकारलाई मैले अपशब्द प्रयोग गरेको विषय उनले विज्ञप्तिमै स्वीकार गरेका छन्।
विज्ञप्तिमा उल्लेख छ- ‘अपशब्द प्रयोग गर्दा संचारकर्मी र संचार माद्यमको मर्यादामा ठेस पुग्न गएकोमा म आफ्ना शब्द जस्ताको त्यस्तै फिर्ता लिन्छु।’
प्रदेश सभामुख, सांसद तथा मन्त्रीहरुले प्रदेश राजधानी जनकपुरधाममा आफनो घर हुँदाहुदै संसद सचिवालयबाट घर भाडा बापतको पैसा लिने गरेको समाचार आएपछि गम्भीर ध्यानाकर्षण भएको र सोही विषयमा प्रदेशसभाका सभामुख सरोज यादवले घरभाडा लिएको समाचारका विषयमा आफूले प्रतिवाद गरेको मन्त्री साहले विज्ञप्तिमा उल्लेख गरेका छन्।
गत शनिबार सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४, रम्पुरा मलहनीयामा आयोजित ‘हलुवाई समाज नेपालको जिल्ला अधिवेशन’मा सहभागी भएका मन्त्री साहले पत्रकारलाई जुत्ता हान्ने धम्की दिएका थिए। उनले ‘पत्रकारहरु झुटको खेती गरिरहेकाले त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ’ भन्दै अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।