राजविराज– प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पत्रकारलाई जुत्ता हाल्ने धम्की दिएका छन्। राजपाभित्रको आन्तरिक विवाद चुलिएका बेला राजपाबाटै मन्त्री बनेका साह भने पत्रकारलाई गाली गरेर चर्चामा आलोचित बनेका छन्।
शनिबार सप्तरीको हुनुमाननगर कंकालिनी नगरपालिका १४, रम्पुरा मलहनीयामा आयोजित हलुवाई समाज नेपालको जिल्ला अधिवेशनमा सहभागी हुने क्रममा साहले पत्रकारलाई सार्वजनिक रुपमा अपमान गरेका थिए। उनले पत्रकारलाई जुत्ता हान्नेसम्मको अभिव्यक्ति दिएका थिए। हनुमाननगर कंकालिनी साहको गृहनगर हो।
‘जनकपुरमा घर भएका माननीयले पनि घरभाडा बापतको सुविधा लिएको विषयमा पत्रकारले जिज्ञासा राखेपछि मन्त्री साहले ‘पत्रकारले झुटको खेती गरिरहेकाले त्यस्ता पत्रकारलाई जुत्ताले हान्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष समेत रहेका संघिय प्रेस फोरमका प्रदेश अध्यक्ष श्यामसुन्दर यादव, राजपा निकट प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झा समेत थिए। यादव लगायतका पत्रकारले फेसबुक टाईमलाईनमा साहको अभिव्यक्ति प्रति आलोचना गरेका छन्।
पत्रकार महासंघले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।