एनआरटी टिम
काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा पुछारका २ टिम मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) बीचको खेलमा १० गोल भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलको पहिलो हाफमै ८ गोल भएको थियो। दोस्रो हाफमा दुवै टिमले थप १–१ गोल गरेपछि खेल ५–५ गोलको बराबरीमा सकिएको छ।
खेलको तेस्रो मिनेटमा मच्छिन्द्रका भासाडिया डियामान्डेले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए।
आठौं मिनेटमा मच्छिन्द्रका सहिद जिबेन्गाले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीको स्थितिमा आयो।
नवौं मिनेटमा विशाल राईले गोल गरेपछि मच्छिन्द्रले खेलमा दोस्रो पटक अग्रता लियो।
२७ औ मिनेटमा मच्छिन्द्रले तेस्रो गोल गर्यो। खामिर ग्लिसनले गोल गर्दै मच्छिन्द्रलाई ३–१ले अघि बढाए।
२९ मिनेटमा अनिल गुरुङले अर्को गोल गरेपछि मच्छिन्द्र ४–१ ले अघि बढ्यो।
त्यसपछि एनआरटी लगातार ३ गोल गर्न सफल भयो। एनआरटीका लागि अशोक थापाले ३२ र ३४ मिनेटमा गरी २ गोल गरे। चार मिनेट थपिएको पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा एनआरटीका सुशील पेनाल्टीमा गोल गरेपछि पहिलो हाफ ४–४ गोलको बराबरीमा रोकियो।
६३ मिनेटमा विशाल राईले गोल गरेपछि मच्छिन्द्र फेरि अग्रता लिन सफल भयो।
तर खेल निर्धारित समयको सकिन ५ मिनेट बाँकी छदा एनआरटीका कोएसि जिनले गोल गरेपछि खेल ५–५ गोलको बराबरी भयो।
बराबरीपछि मच्छिन्द्र १२ खेलबाट ७ अंक जोड्दै १२औं स्थानमा उक्लिएको छ। पुछारको एनआरटीको ६ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।