काठमाडौं– लेखिका सुष्मा रुपाबुङ राईद्धारा लिखित उपन्यास ‘लाहुरेनी फूल’ मण्डला थिएटरमा लोकार्पण गरिएको छ।
पुस्तकको कवि श्रवण मुकारुङ, प्रकाश गुरागाईं र कलाकार सिर्जना सुब्बाले संयुक्त लोकार्पण गरेका थिए।
बेलायतमा बस्दै आएकी लेखिका राईको यो पहिलो उपन्यास हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुकारुङले ‘लाहुरेनी फूल’ लाहुरे संस्कृतिमाथि लेखिएको सुन्दर उपन्यास भएको बताए।
उनले भने,‘पढ्दै जाँदा लेखनले मलाई छोयो। उपन्यासको भाषा र लेखन शैलीले पाठकलाई प्रभावित गर्छ।’ लेखनभित्र रहेका कवितात्मक बिम्बहरूले उपन्यास झनै आकर्षक भएको उनले बताए।
कार्यक्रमका अर्का वक्ता कवि प्रकाश गुरागाईंले उपन्यासमा सांस्कृतिक बिम्ब भएको हुनाले नयाँपनको आभास पाइएको बताए।
सामान्य त्रुटिहरू देखिए पनि भाषाको मिठास भएको हुनाले पढ्दा आफूसमेत भावुक भएको गुरागाईंले भने।
त्यसैगरी कलाकार सिर्जना सुब्बाले लाहुरे संस्कृतिमाथि लेखिएको उपन्यासले नेपाली समाजमा लाहुरेको वास्तविक अवस्थालाई झल्काउने बताइन्।
प्रेमको प्रसंगले नेपाली समुदायको सामाजिक र सांस्कृतिक अवस्थालाई पारेको प्रभाव यथार्थपरक भएको बताइन्।
लेखिका राईले पहिलो उपन्यासबाटै आफ्नो सम्भावनालाई बलियो बनाएको उनको भनाइ थियो।
उपन्यासकार राईले प्रेमको विषयलाई उपन्यासमा फरक तरिकाले परिभाषित गर्न खोजेको बताइन्।
आफूले बेलायत बसेरै पनि नेपाली साहित्यमा योगदान गर्ने प्रयास गरेको उनकाे भनाइ थियो।
पुस्तकलाई फिनिक्स बुक्सले प्रकाशनमा ल्याएको हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।