लिभरपुल– इंग्लिस प्रिमियर लिगमा आर्सनलमाथि सानदार जित हात पारेसँगै लिभरपुलले रेकर्ड बनाएको छ। लिभरपुलले शनिबार राति भएको खेलमा आर्सनललाई ५–१ गोलले पराजित गरेको हो।
लिभरपुलका लागि रोबर्टो फिर्मिनोले ह्याट्रिक गरे। उनले खेलको १४ र १६ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसअघि मेटल्यान्ड निल्सले ११ मिनेटमा गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए।
३२ मिनेटमा साडियो मानेले गोल गरेपछि लिभरपुलको अग्रता ३–१ मा पुग्यो। पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि चौथो गोल गरे।
पहिलो हाफमा पाँच गोल भएको खेलको ६५ मिनेटमा फिर्मिनोले ह्याट्रिक पूरा गर्दा लिभरपुल ५–१ गोलले अघि बढेको थियो।
जितसँगै शीर्ष स्थानको लिभरपुलले २० खेलबाट ५४ अंक जोडेको छ। प्रिमियर लिगको सुरुवाती २० खेलबाट ५४ अंक जोड्ने लिभरपुल पहिलो टिम बन्दै रेकर्ड बनाउन सफल भयो।
यता ४५ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको टोटनह्याम भने पराजित भएको छ। टोटनह्यामलाई वुल्भ्सले ३–१ गोलले हरायो। ह्यारी केनले खेलको २२ मिनेटमा गोल गरेपछि टोटनह्यामले पहिले अग्रता लिएको थियो।
तर अन्तिम १८ मिनेटमा वुल्भ्सले ३ गोल गर्न सफल भयो। उसका लागि बोलीले ७२ मिनेटमा बराबरी गोल फर्काए। जिमनेजले ८३ मिनेटमा गोल गरेर वुल्भ्सलाई अग्रता दिलाउदा हेल्डर कोस्टाले ८७ मिनेटमा तेस्रो गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।