काठमाडौं- संसदको हिउँदे अधिवेशनको पहिलो दिन (गत बुधबार) संसद्मा बोल्दै गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सफल हुँदै गएको फेहरिस्त लगाए। विकासले गति लिएको, छिमेकी देशसँग सम्बन्ध सुध्रिएको र ‘रेल सपना’ पूरा भएका अनगिन्ती सूची उनले सुनाए।
‘हिजो हामीले सपना जस्तो गरी भन्थ्यौं। ती विपना भएका छन्। छिट्टै रेल आउने भएको छ,’ यति भन्दै उनले सडकमा धुलोको मात्रा घटेको, मास्क लगाउनेहरु कम हुँदै गएको, सडक पिच हुने क्रम बढेको भन्दै उनले सरकारको बचाउ गरे।
राजनीतिक परिवर्तनले विकासको फड्को मार्ने क्रममा आइपुगेको बताइरहँदा प्रचण्ड आफ्नै बोलीमा टिकिरहन सकेनन्। उत्तिखेर नै उनले आफ्नै बोली काटे। र, भने, ‘लोकतान्त्रिक प्रणालीको विकास छिटोछिटो हुने प्रणाली होइन। वास्तवमा कम्युनिस्ट पार्टीको जस्तो परम्परागत शासन हुने थियो भने ड्यामड्याम निर्णय गरेर अलि छिटोछिटो जान पाएको भए ‘यस्तो देखिएन’ भन्ने हुन्थेन। देखिन्थ्यो।’
कम्युनिस्ट शासन प्रणालीमा विकासको गति ‘ड्याम्म ड्याम्म’ हुने थियो भन्ने प्रचण्डको बोलीले कांग्रेस सशंकित भएको छ। कांग्रेस शीर्ष नेताहरु कम्युनिस्ट सरकारको अन्तिम गन्तव्य अधिनायकवाद र सर्वासत्तावाद भन्दै आएको अवस्थामामा प्रचण्डको यो अभिव्यक्तिले उनीहरुको आशंकामा थप मलजल गरेको छ।
संसदमा प्रचण्डले बुधबार बोलेको विषयलाई कांग्रेसले ‘गम्भीर’ रुपमा लिँदै कम्युनिस्टहरुको अभीष्ट एकदलीय शासनको परिकल्पनामा नै उक्त बोलीमा आएको अर्थयाउन थालेका छन्।
सोही दिनको संसद बैठकमा बोल्दै कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी समायोजन अध्यादेशसँग जोड्दै प्रचण्डको बोलीको खण्डन गरे। प्रचण्डले भने जस्तो ड्याम्मै निर्णय गरेर लागू नहुने उनको भनाइ थियो। देउवाले भने कर्मचारी समायोजन अध्यादेशमा सरकारको ढंग नपुगेको ठोकुवा गरे।
यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र अहिले पनि खतरामै रहेको बताएका छन्। शुक्रबार साँझ सञ्चारकर्मीहरुसँगको भेटमा पौडेलले नेकपाका अध्यक्षबाट त्यस प्रकारको अभिव्यक्ति आउनु दु:खद भएको बताए।
‘लोकतन्त्रका बारेमा उहाँ (प्रचण्ड) लाई गलत सिकाइएको पो हो कि? वा, जनताले बुझ्न नसकेर मत दिएका पो हुन् कि?’ उनले प्रचण्डको विचारप्रति आपत्ति जनाउँदै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा काम गरिएन भन्नेलाई मत दिएको प्रति जनताले सच्चाउनुपर्ने भएको छ।’
वर्तमान सरकारको काम गर्ने ढंग नै नभएको पौडेलले दाबी गरे।
कांग्रेसको तेस्रो धार तथा विचार समूहमा रहेका कांग्रेस नेताहरुले प्रचण्ड बोलेकै भोलिपल्ट पत्रकार सम्मेलन गरेरै विरोध जनाए। नेताहरु कृष्णप्रसाद सिटौला र गगन थापाले बिहीबार सञ्चारकर्मी भेला गरेर भनेका थिए, ‘त्यो बोलीको सार हो- वर्तमान सरकार त्यही अधिनायकवादी बाटोमा जाँदैछ।’
नेता सिटौलाले प्रचण्डको बोलीले कम्युनिस्ट सर्वासत्तावादको संकेत दिएको बताए। सरकार अधिनायकतिर बढेको बताउँदै सिटौलाले त्यसलाई रोक्न कांग्रेस जनतामा जाने जानकारी गराए। उनले भने, ‘वर्तमान व्यवस्थाले सरकारले जनतालाई सुविधा डेलिभर गर्न सक्दैन भनी अभिव्यक्ति दिनु गैरजिम्मेवारी हो। संविधान र लोकतन्त्रको सीमा नाघ्न खोजिएको छ। त्यसलाई रोक्न कांग्रेस संसद र संसद बाहिर जनमत निर्माण गर्ने अभियानमा लाग्छ।’
युवा नेता थापाले कम्युनिस्ट सरकारमा ‘सेट अफ स्किल’ नभएको बताए। कम्युनिस्ट सरकार कार्यक्षमता नभएकै कारण असफल हुने उनको निचोड छ। ‘जोसुकै कम्युनिस्ट नेताले सरकारको नेतृत्व लिए पनि सेट अफ स्किल छँदैछैन। ५० वर्ष राज्य सञ्चालन गरे पनि तिनीहरूमा त्यो देखिन्न,’ ठोकुवा साथ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।