काठमाडौं- सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले गर्न चाहेका नवीन कामहरुमा अवरोध सिर्जना भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा भएको क्यान फेडरेसनको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले घोषणा गरेका नवीन काम अदालत तथा बुद्धिजीवी भन्नेहरुबाटै अवरोध हुन थालेको गुनासो गरे। विरोध र अवरोध गर्नेहरुले आफ्नो क्षेत्राधिकार बुझेर काम नगर्दा सरकारलाई काम गर्न अप्ठ्यारो पर्ने गरेको पनि उनले बताए।
सम्बन्धित निकायले आफ्नो जिम्मेवारी नबुझेर अर्काको क्षेत्राधिकार मिच्ने परिपाटीका कारण समस्या सिर्जना भएको दाबी गरे। डिजिटल नेपालको लक्ष पूरा गर्ने सन्दर्भमा केही अप्ठ्यारा सिर्जना हुने गरेको उल्लेख गर्दे उनले विद्युतीय कारोबार सम्बन्धी ऐनहरुलाई सहज बनाउदै लगिने बताए।
सिलौटे युग पार गर्दे अहिले मन्त्रिपरिषद् बैठक कम्प्युटर प्रणालीबाट सञ्चालन गर्ने अवस्थामा आइसकेको भन्दै उनले सरकारले डिजिटल नेपालको संकल्प पूरा गरेरै छाड्ने दाबी गरे। सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपालको अभियानलाई अघि बढाउने उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।