रसुवा– मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि रसुवामा आइतबार भएको उम्मेदवारी दर्तामा उम्मेदवारदेखि मतदातासमेत उत्साहित देखिए।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले बाजा, र्याली, झाँकीसहित उल्लासका साथ उम्मेदवारी दर्ता गराए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि वाम गठबन्धन तथा स्वतन्त्रबाट २३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा सदस्यका लागि ७ जना र प्रदेशसभाका लागि ४ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।
आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि रसुवामा भने दिउँसो साढे २ बजेबाट उम्मेदवारी दर्ता सुरु भएको थियो। उम्मेदवारी दर्ता साँझ ७ बजेसम्म चलेको थियो।
वाम गठबन्धनका दलभित्र उम्मेदवार टुंगो लगाउन नसक्दा तथा गठबन्धनका केही नेताले टिकट नपाएको भन्दै समयमै कार्यकर्ता भेला गर्न नसक्दा उम्मेदवारी दर्ता साँझ अबेर भएको थियो।

वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाल र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिस्पर्धामा छन्। दुवै नेता निर्माण व्यवसायी हुन्। ढकाल यसअघि २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए। आचार्य जिल्लामा समाज सेवामा ख्याती कमाएका व्यक्ति हुन्।
हेलिकोप्टर चार्टर गरेर उम्मेदवारी दर्ता
आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न नेताहरु हेलिकोप्टर चार्टर गरेर आएका थिए। नयाँ शक्ति पार्टीसँग तालमेल गरेको नेपाली कांग्रेसले हेलिकोप्टर चार्टर गरेर उम्मेदवारलाई रसुवा उतारेको थियो।
काठमाडौंमा उम्मेदवार छनोटको टुंगो लगाउन बसेको बैठकले मध्यान्ह १२ बजे सहमति जुटाएपछि उम्मेदवारी दर्ताका लागि सडक यातायात मार्फत आउन ढिला हुने भएपछि रसुवा प्रदेशसभा–१ का कांग्रेस उम्मेदवारले हेलिकोप्टरमा आई उम्मेदवारी दिएका हुन्। कांग्रेसका उम्मेदवार प्रभात तामाङले कसलाई टिकट दिने भन्ने विषयमा कुरा नमिल्दा ढिलाइ भएपछि हेलिकोप्टर चार्टर गरेर आउनुपरेको बताए।

कांग्रेसले उम्मेदवारको टुंगो लगाएपछि नेताहरु मोहन आचार्य, प्रभात तामाङ, लामा कार्पु तामाङ, पेम्बा छिरिङ तामाङ हेलिकप्टर चार्टर गरी साँझ ५ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।
रसुवामा मनोनयन दर्ता गरेका उम्मेदारहरुको सूची
प्रतिनिधिसभा
नेकपा एमाले— जनार्दन ढकाल
नेपाली कांग्रेस— मोहन आचार्य
लिबरल डेमोक्रेडिक पार्टी— मोहनसिंह तामाङ
मङ्गोल नेसनल अर्गनाइजेसन— नुर्पु ग्याम्जो तामाङ
स्वतन्त्र— सर्मिला थापा क्षेत्री
स्वतन्त्र— सिदर याङजेन लामा
स्वतन्त्र— कविराज डंगोल
स्वतन्त्र— सुजन डंगोल
स्वतन्त्र— शिवबहादुर लामिछाने
स्वतन्त्र— विजयकुमार पौडेल
स्वतन्त्र— विरेन्द्रकुमार उप्रेती
प्रदेशसभा–१
नेकपा एमाले— कर्णेल लामा
नेपाली कांग्रेस— प्रभात तामाङ
एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी— नुर्पु छिरिङ तामाङ
मङगोल नेसनल अर्गनाइजेसन— लक्षिन नुर्पु तामाङ
स्वतन्त्र— लिलाबहादुर न्यौपाने
स्वतन्त्र— विष्णु लामा
स्वतन्त्र— सगुन घले
प्रदेशसभा–२
माओवादी केन्द्र— इन्द्रप्रसाद गोतामे
नयाँ शक्ति पार्टी— पे्रमबहादुर तामाङ
नेपाल मजदुर किसान पार्टी— राधिका पौडेल
मङ्गोल नेसनल अर्गनाइजेसन— परमसिंह तामाङ
स्वतन्त्र— निर्मलविक्रम गोले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।