बाजुरा– प्रतिनिधि र प्रदेशसभाको चुनावमा बाजुराबाट दुई दलले मात्रै उम्मेदवारी दर्ता गराएका छन्। हरेक चुनावमा दुई दलबीच कडा प्रतिस्पर्धा हुने बाजुरामा वाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा एमालेका लालबहादुर थापा र नेपाली कांग्रेसबाट कविराज पण्डितले उम्मेदवारी दर्ता गराएका हुन्।
प्रदेशसभाका लागि वाम गठबन्धनबाट बाजुरा (क) मा वलदेव रेग्मी र बाजुरा (ख) मा प्रकाश शाह उम्मेदवार बनेका छन् भने कांग्रेसबाट जनकराज गिरीले (क) मा र पदमबहादुर शाहीले (ख) मा उम्मेदवारी दर्ता गराएका छन्।
यसअघिका निर्वाचनमा हुँदै आएको दुई दलबीचको कडा टक्कर यसपल्ट पनि दोहोरिने देखिएको छ। २०७० सालको दोस्रो संविधानसभामा निर्वाचनमा नेकपा एमालेले झन्डै ५ हजार मतले कांग्रेसलाई हराएको थियो। तेस्रो दल तत्कालीन नेकपा माओवादीले ५ हजार ६ सय ९१ मत ल्याएको थियो।
केही महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा भने बाजुरामा एमालेभन्दा कांग्रेस ६ सय ३४ मतले अघि देखिएको छ। स्थानीय निर्वाचनमा माओवादी केन्द्रले कांग्रेस उम्मेदवारलाई सघाउँदा धेरै स्थानीय तहमा कांग्रेसले जितेको हो। माओवादी केन्द्रले जिल्लाभरिबाट ३ हजार ९ सय ५६ मत मात्रै ल्याएको थियो।
स्थानीय तह निर्वाचनको मत अनुसार वाम गठबन्धन झिनो मतान्तरले अघि देखिएको छ। तर, स्थानीय तहको मत व्यक्तिको प्रभावका कारण पनि घटबढ हुने भएकाले कसले बाजी मार्ला भन्ने अनुमान लगाउन सहज छैन।
राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका दुवै दलका नेता भने यसपल्ट चुनावी मैदानभन्दा बाहिर छन्। नेकपा एमालेका कर्ण थापा र नेपाल कांग्रेस बद्री पाण्डे समानुपातिकको सिफारिसमा परेका छन्।
बाजुराबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका एमालेका थापा र कांग्रेसका पण्डित दुवै पार्टीका जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन्। एमालेका थापाले जिल्ला विकास सभापतिका लागि एकपल्ट चुनावको सामना गरिसकेका छन् भने कविराज पण्डित पहिलोपल्ट मैदानमा उत्रिँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।