काठमाडौं– बालबालिकाको नयाँ साथीको रुपमा ‘बाल उदय’मासिक बाल पत्रिका बजारमा आएको छ।
उनीहरूको सिकाइ संस्कृति विकासमा टेवा पुर्याउने उदेश्यले बाल पत्रिका प्रकाशनमा ल्याइएको प्रकाशक एवम् सम्पादक नरेन्द्र कुमार नगरकोटीले बताए।
पत्रिकाको पहिलो अंकको वितरण आजबाट सुरु गरिएकाे सम्पादक नगरकोटीले बताए। नगरकोटी लामो समयदेखि बालबालिका र शिक्षाकाे क्षेत्रमा क्रियाशील छन्। साहित्यिक पत्रिकाको समेत सम्पादन गरिसकेका उनले पठनयोग्य बालपत्रिकाको प्रकाशन गर्न आफ्नो केही वर्षदेखिको योजना रहेको बताए।
पत्रिकाको सल्लाहकार सम्पादकमा लेखक विजय सापकोटा रहेका छन्। ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर पत्रिका प्रकाशन गरिएको छ।
कुल ५६ पृष्ठ रहेको पत्रिकामा फरक–फरक भूगोलका बालबालिकाका सिर्जना समेटिएको सम्पादक नगरकोटीले बताए।
पत्रिकामा विशेष महिनामा मनाइने चाडपर्व, स्थानीय प्रविधि, नेपाली जनजीवन, संस्कृति बारे बालबालिकाका अनुभव समेटिने सम्पादन मण्डलले जनाएको छ।
पत्रिकाको पहिले अंकको वितरण सबै जिल्लामा पुग्ने गरी तयारी गरिएको सम्पादक नगरकेटीले बताए।
बालबालिकालाई लक्षित गरेर प्रकाशन गरिए पनि सबै अभिभावकका लागि समेत पठनयोग्य हुने बताइएको छ। बजारमा बालपत्रिकाको अभाव महशुस भइरहँदा बालबालिकालाई सृजनात्मक रुपमा अगाडि बढाउन जोखिम लिएरै पत्रिका प्रकाशन गरिएकाे सम्पादक नगरकोटीले बताए।
उनले बालबालिकाको प्रत्यक्ष सहभागितामा स्कुलस्कुल र जिल्लाजिल्लामा सिर्जनात्मक सीप विकास कार्यशाला सञ्चालन गरिने पनि बताए।
पत्रिकामा बालबालिकालाई नकारात्मक असर गर्ने कुनै पनि किसिमका विज्ञापन नराख्ने सम्पादक टिमले अठोट लिएको छ।
पत्रिकाको निरन्तरताका लागि बालबालिको सहभागितालाई विशेष जाेड दिने टिमले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।