राजविराज– सप्तरीको राजविराज नगरपालिका–२ का ८३ वर्षीय लक्ष्मीलाल देव बिहीबार लौरो टेकेर सकि–नसकी नगरपालिका कार्यालय पुगे। चौमासिक रुपमा कात्तिकमै पाउनु पर्ने वृद्धभत्ता उनले यसपटक पनि पाउन सकेनन्। पटक–पटक भइसक्यो, उनी कार्यालय धाउँदा–धाउँदै हैरान छन्।
आज–भोली भन्दै कर्मचारीले आश्वासन दिने तर काम नगरिदिने गर्न थालेपछि कार्यालयमा पुग्नु र रित्तो हात फर्कनु हिजोआज उनको दैनिकी जस्तै बनेको छ। ‘दसैंतिहार जस्ता चाडपर्वमा पनि पैसा दिएनन्’, देव भन्छन्, ‘१÷२ दिन भन्न थालेको पनि डेढ महिना भयो, तर त्यो दिन अहिलेसम्म आएन।’
वडा नम्बर ८ का रामेश्वर वरही पनि आजभोलि दिन बिराएर नगरपालिका कार्यालय पुग्छन्। तर, उनको अवस्था पनि ठिक लक्ष्मीकान्तको भन्दा फरक छैन। भनेको समयमा काम नभएपछि उनले पनि निरास भएर नै फर्किनु परिरहेको छ। ‘२/४ दिनमा दिन्छौ भन्दा भन्दै कात्तिक सकियो’, उनी भन्छन्, ‘पुष पनि बित्न लाग्यो, तर दिने चाहीं कुरै गर्दैनन्।’
लक्ष्मीलाल र रामेश्वर जस्ता वृद्धवृद्धा मात्र होइन, नगरपालिकाका करीब ४ हजार २ सय नगरवासीले यतिबेला यहि समस्या भोगिरहेका छन्। नगरपालिकामा दसैं अघिदेखि नै प्रमुख प्रशासकीय अधिकृत नभएका कारण गत साउनदेखि कै विभिन्न शिर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, विधवा, एकल महिला, अपांग र दलित बालबालिकाले भत्ता नपाएको नगरपालिकाका सूचना अधिकारी प्रफुल्ल कुमार श्रेष्ठले जानकारी दिए। कात्तिकमै वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म दिन नसकिएको उनले स्वीकारे।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्की दसैं अगाडि नै बिदामा गएपछि अहिलेसम्म फर्केका छैनन्। लामो समयसम्म उनका ठाउँमा अर्को अधिकृत पनि नपठाइएका कारण आर्थिक कारोबारमा अवरोध भएको हो। जसकारण सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको श्रेष्ठले स्पष्ट पारे।
हाल मन्त्रालयले नगरपालिकाका लेखापाल राजेश कुमार राजलाई निमित्त प्रशासकिय अधिकृतको जिम्मा दिएकाले एक हप्ताभित्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए। उनले भने, ‘हामीले प्रकृया सुरु गरिसकेका छौं, एक साता भित्र समस्याको समाधान हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।