काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक धरहराको निर्माण दुई वर्षमा सकिने बताएका छन्।
२०७२ सालको भूकम्पले क्षति पुर्याएको सुन्धारास्थित धरहरास्थलमै बन्न लागेको आधुनिक धरहराको शिलान्यास कार्यक्रममा बोल्दै ओलीले ऐतिहासिक मौलिकतालाई जोगाउने गरी बनाइने प्रतिबद्धता जनाए। ऐतिहासिक धरहराको पुननिर्माणमा हरेक क्षेत्रका व्यक्तिको बराबरी सहकार्यको आवश्यकता रहेको प्रधानमन्त्रीले ओलीको भनाइ थियो।
मुलुकमा विकासको नयाँ लहर सुरु भएको भन्दै उनले धरहरा पुनर्निर्माणको जिम्मा लिएको निर्माण कम्पनी रमन कन्सट्रक्सनलाई तोकिएकै समयमा काम सम्पन्न गर्न आग्रह गरे। 'आधुनिक धरहरामा चढेर जवान युवाले मात्र होइन ज्येष्ठ नागरिकले पनि काठमाडौंको सुन्दर दृश्यावलोकन गर्न सक्नेछन्,' उनले भने।

उनले धरहरा नेपाल र नेपालीको प्यारो सम्पदा भएको उल्लेख गर्दै यसको पुनर्निर्माण गर्ने संकल्प अघि बढाइएको पनि जानकारी दिए। अघिल्लो पटक प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा, म आफैं बनाउछु’ भन्ने अभियान अघि बढ्न नसकेको स्विकार्दै उनले भने, 'अब भने तोकिएकै समयमा धरहरा बन्नेमा विश्वस्त छु।'
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धरहरा पुनर्निर्माणका लागि स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

२९ रोपनी क्षेत्रफलमा बन्न लागेको २२ तलाको आधुनिक धरहराको उचाइ ७९ दशमलव २ मिटरको हुनेछ। त्यसैगरी धरहराको वरिपरि वाटर फाउन्टेन सहितको सुन्दर उद्यान तथा रेस्टुरेन्टको निर्माण हुनेछ।
रमन कन्स्ट्रक्सनले ३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० बजेटमा सो धरहरा पुनर्निर्माणको जिम्मा पाएको छ।
२०७२ फागुन २ गते प्रधानमन्त्री ओलीले ‘मेरो धरहरा म आफैं बनाउँछु’ अभियान सुरु गरेका थिए।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।