काठमाडौं– प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ।
प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ। शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको थियो। तर अब प्रतियोगिता माघमा पनि नहुने राष्ट्रिय खेककूद परिषद्का एक उच्च अधिकारीले बताए।
“आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनःसार्ने तयारी गरिएको छ। भौतिक पूर्वाधार निर्माणको कारण देखाउँदै माघको अन्तिम साता तय भएको प्रतियोगिता सार्ने तयारी भएको हो”, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले भने।
प्रतियोगिताको उद्घाटन गर्ने भनिएको नेपालगञ्ज रङ्गशालाको काम निर्धारित समयमा पूरा हुने नदेखिएपछि प्रतियोगिता फागुनको दोस्रो साता सञ्चालन गर्ने तयारी गरिएको छ। प्रतियोगिताको नयाँ मिति केही दिनपछि तोकिने उपाध्यक्ष तिम्सिनाले बतए।
गत असोजमा राखेप सञ्चालक समिति बैठकले अन्तिम समयमा आएर बजेट अभाव र पूर्वाधार निर्माणको कारण देखाउँदै प्रतियोगिता माघको अन्तिम साता सारिएको थियो। तर मुख्य खेल मैदान नेपालगञ्ज रङ्गशाला निर्धारित समयमा निर्माण पुरा नहुने भएपछि प्रतियोगितालाई पुनः दुई हप्ता सार्ने तयारी भएको युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए।
निर्देशिका निर्माण हुँदै
मन्त्रालयले खेलकूद प्रतियोगिता सञ्चालनसम्बन्धी निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुर्ययाएको छ। मन्त्रालयका अनुसार फरकफरक निर्देशिका बनाउँदै आएको मन्त्रालयले अब एउटै निर्देशिकामार्फत प्रतियोगिता सञ्चालन गर्न लागेको हो। ‘राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन निर्देशिका’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मन्त्रिपरिषद्ले पारित गरेलगत्तै निर्देशिका जारी गर्ने तयारी मन्त्रालयले गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।