काठमाडौं– थाइल्यान्डको चाङमइमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका नेपालका महेश्वर महर्जनलाई गैरआवासीय नेपाल संघ (एनआरएनए) थाइल्यान्डले सम्मान गरेको छ।
महर्जनलाई संघले २ लाख २५ हजार रुपैयाँसहित थाइल्याण्डमा सम्मान गरेको हो। पुरस्कारका लागि एनआरएन थाइल्यण्डका कोषाध्यक्ष कान्छा गाबो गुरुङ र सदस्य अतिस श्रेष्ठले जनही नगद १ लाख १२ हजार ५०० रुपैयाँ प्रदान गरेका हुन्।
त्यस्तै संघले मिस युनिभर्समाउत्कृष्ट १० मा पर्न सफल मिस नेपाल युनिभर्स मनिता देवकोटालाई समेत सम्मान गरेको छ। स्वर्ण विजेता महर्जन र मिस नेपाल युनिभर्स देवकोटाले थाइल्यान्डमा भएको कार्यक्रममा नेपालीको प्रतिष्ठा बढाएकाले सम्मान गरिएको संघले जनाएको छ।
२ साता अघि महेश्वरले पुरुष ७५ केजीमा स्वर्ण जितेका थिए। स्पर्धामा १२ खेलाडी सहभागी थिए। अन्तिम प्रतिस्पर्धामा महेश्वरले भारत र सिंगापुरका खेलाडीलाई पछि पारे। भारत दोश्रो र सिंगापुर तेश्रो भएका थिए। गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन्।
महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो। महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए।यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए।
महर्जन मंघरबार स्वदेश फर्किएका थिए। उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।