काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले पाँचौ जित हात पारेको छ। शेर्पाले बुधबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ४–१ गोलले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाँच गोल भए। दोस्रो हाफ सुरु भए लगत्तै गोहा प्याट्रिकले गोल गरेर शेर्पालाई पहिले अग्रता दिलाए। ५४ मिनेटमा शेर्पाले अग्रता दोब्बर पार्न सफल भयो। शेर्पाका लागि भिषण गुरुङले दोस्रो गोल गरे।
६१ मिनेटमा शेर्पाले तेस्रो गोल गर्न सफल भयो। यसपटक विश्वास श्रेष्ठले बिग्रेडका डिफेन्डरको गल्तिको फाइदा उठाएर गोल गरेका थिए। ब्रिगेडका डिफेन्डर अलरिचले मिस गरेको बल अघि बढाएर विश्वासले गोल गरेका थिए। विश्वासले ८० मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे। उनले गोहा प्याट्रिको पासको सदुपयोग गरेर गोल गरेका थिए।
खेल सकिन ३ मिनेट बाँकी छदा बिग्रेडका वर्तमान राइले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
जितसँगै शेर्पा ११ खेलबाट १७ अंक जोडेर लिगको पाँचौ स्थानमा उक्लिएको छ। एक खेल कम खेलको त्रिभुवन आर्मी क्लबको १८ अंक छ भने छैटौं स्थानको सशस्त्र प्रहरी बलको १५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।