काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्र पुर्नस्थापनाको माग गर्दै फागुन ७ गतेबाट आन्दोलन सुरु गर्ने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि देशभर आन्दोलन गर्ने घोषणा गरेका हुन्। अध्यक्ष थापाले सो आन्दोलन सरकारविरुद्ध नभई मुलुकको राष्ट्रिय एकता र पहिचानलाई सुदृढ बनाउन रहेको पनि स्पष्ट पारे।
मंगलबार काठमाडौंमा आयोजित एक धार्मिक भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो आन्दोलनमा सहभागी हुन सनातन धर्ममा विश्वास राख्ने सबै राजनीतिक दल तथा धार्मिक संघ, संस्थाहरुलाई पनि आह्वान गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको राष्ट्रिय पहिचानका लागि हिन्दूराष्ट्र पुर्नस्थापना हुर्नैपर्ने दाबी गर्दै आएको छ । अध्यक्ष थापाले मुलुकको स्वाभिमान र राष्ट्रिय पहिचान तथा राष्ट्रिय एकताका लागि पनि हिन्दूराष्ट्र र राजसंस्था पुर्नस्थापना गर्नुको विकल्प नरहेको दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।