चितवन– पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चार वर्षमा चितवन जिल्लाका कुनै पनि बाटोलाई धुलोमैलो नराखिने बताएका छन्।
'सम्पूर्ण बाटोहरु पक्की बनाइने छ', प्रचण्डले भने, 'विद्यालय शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा पनि चितवनलाई नयाँ प्रगतितिर लगिने छ।'
उनले देश गरिब र पछौटे भएपछि सबैले हेप्ने बताए।
भरतपुर महानगरपालिका-२७, मेघौलीस्थित जानकी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा बोल्दै देश गरिब भएपछि अन्तर्राष्ट्रिय संघ-संस्थाहरूले पनि आफ्ना ऐन कानुनमा स–साना बखेडा झिकेर दुःख दिने गरेको समेत बताए। माडीको पुल निर्माणमा युनेस्को आदि संस्थाहरूको अवरोध देखिएको भन्ने कुरामा टिप्पणी गर्दै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्।
प्रचण्डले वडा नम्बर २७ मा पेतली खोलाको पुल निर्माणमा समेत आफ्नोल सहयोग रहने बताए।
त्यस्तै प्रचण्डले शिक्षा स्वास्थ्य र रोजगारीको क्षेत्रमा उल्लेख्य प्रगति हुने आशा समेत व्यक्त गरेका छन्। उनले नारायणी र राप्तीको किनारमा तटबन्ध सहितको रिङरोडको लागि डीपीआर बनाउने बहुवर्षीय योजनामा पारिनु ठुलो उपलब्धिहरू रहेको बताए।
आफू पार्टीको राष्ट्रिय अध्यक्ष र पूर्व प्रधानमन्त्री भएकाले समग्र देशको विकास निर्माणबारे आफ्नो उत्तिकै चासो रहेको भए पनि चितवनको जनप्रतिनिधि हुनुको कारण यस जिल्लाप्रति आफ्नो विशेष जिम्मेवारी रहेको समेत प्रचण्डको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।