काभ्रेपलाञ्चोक– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताएका छन्।
बनेपा इसाई समितिद्वारा आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, 'जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन।'
उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताए।
मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए। उनले भने, 'धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न।'
मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई भेदभाव गर्न नहुने बताए।
उनले भने, 'कसैको धार्मिक आस्थामाथि विभेद गर्न पाइँदैन।' उनले धर्म, जातजाति र भूगोलका आधारमा विभेद गर्न नपाइने कानूनी व्यवस्था रहेको बताए।
मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताउँदै हामीले धार्मिक सहिष्णुता अङ्गालेकाे बताए।
'हाम्रो एउटै बस्तीमा अनेक जातजाति र धार्मिक आस्थाका व्यक्ति बस्छन्, हामीले एकअर्काको धर्मको सम्मान गर्नु सिक्नुपर्छ', उनले भने।
मन्त्री बाँस्कोटाले सरकारले हरेक विभेदको अन्त्यको संकल्प गरेकाले धार्मिक विचारमाथि हमला गर्नेलाई राज्यले कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताए।
उनले भने, 'धर्म नैतिकतामा आधारित हुन्छ, एकअर्को धर्मबीच लडाइँ गर्नुपर्ने कुनै कारण पनि छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।