काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
'पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्ये ३ लाख ३७ हजार ३ सय १९ वटा निजी आवास पुनर्निर्माणको काम पूर्ण रूपमा सम्पन्न भएको छ। यसका साथै २ लाख ३३ हजार ३ सय ४३ वटा घर निर्माणको अन्तिम चरणमा छन्,' उनले भने, 'बाँकी ३२ प्रतिशत निजी आवास चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य छ,' सिइओ ज्ञवालीले भने, 'पुनर्निर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छ।'
प्राधिकरणले सम्पदाहरूसहितको सबै पुनर्निर्माणको काम २०७७ साल कार्तिक महिनाभित्र सम्पन्न गर्ने योजना पनि सार्वजनिक गरेको छ। सिइओ ज्ञवालीले २०७७ साल पुसभित्र सबै पुनर्निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी आफूहरूको रहेको उल्लेख गर्दै त्यसभन्दा दुई महिनाअघि नै काम सम्पन्न गर्ने योजना रहेको बताए। प्राधिकरणले एकीकृत बस्ती विकास, जोखिमयुक्त बस्ती स्थानान्तरणको काम पनि आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने जनाएको छ।
प्राधिकरणले हालसम्म ८० प्रतिशत शैक्षिक संस्था, ६६ प्रतिशत स्वास्थ्य संस्था, ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण गरिएको पनि जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।