काठमाडौं- भारतबाट अफ्रिकी मुलुकमा बेचिन लागेका १३ नेपाली चेलीलाई उद्धार गरी मंगलबार काठमाडौं ल्याइएको छ।
नेपाली जनसम्पर्क समिति, भारतले भारतको यहमदावाद, बैङलोर लगायतका स्थानबाट बेचिन लागेका १३ जना नेपाली चेलीहरुलाई उद्धार गरी काठमाडौं ल्याएको हो। भारतस्थित नेपाली दूतावास र भारतको गृह मन्त्रालयसँगको सहयोगमा उनीहरुलाई उद्धारी गरी काठमाडौं ल्याउन आफूहरु सफल भएको समितिका अध्यक्ष बालकृष्ण पाण्डेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुलाई जानकारी दिए।
समितिले पछिल्लो एक महिनामा मात्रै भारतको विभिन्न स्थानबाट अफ्रिकी मुलुकमा बेचिन लागेका ९१ चेलीहरुको उद्धार गरिएको दाबी पनि गरेको छ।
ती चेलीहरुलाई उद्धार गर्ने क्रममा दलालहरुसँग नक्कली कागजपत्र समेत बरामद गरिएको उल्लेख गर्दै अध्यक्ष पाण्डेले नेपाल सरकारसँग उनीहरुलाई कडा कारबाही गर्न पनि माग गरे।
नक्कली कागजपत्र बनाएर उनीहरुले ती चेलीहरुलाई अफ्रिकाको डान्सबारमा काम लगाइदिने प्रलोभनमा बेच्न लगेको पनि अध्यक्ष पाण्डेले बताए। समितिले उद्धार गरी मंगलबार काठमाडौं ल्याइएका चेलीहरुको व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्ने पनि स्पष्ट पारेको छ।
अध्यक्ष पाण्डेले उद्धार गरिएका ती चेलीहरुको शिक्षा, बसोबास लगायतको व्यवस्था गर्न सरकारसँग पनि आग्रह गर्ने बताए। नेपाली चेलीहरु बेचबिखन कार्यमा संलग्न दलालहरुमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीमा उजुरी दिने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।