काठमाडाैं- प्रधानमन्त्री र राजपा नेताहरुबीच भेटवार्ता सकिएको छ।
केही बेरअघि सकिएको वार्तामा प्रधानमन्त्रीले राजपा नेताहरुको चासोको विषयलाई एक साताभित्रै अघि बढाउने प्रतिबद्धता जनाएको राजपा नेताहरुले प्रतिक्रिया दिएका छन्।
'आइस ब्रेक भयो', राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले बताए।
संविधान संशोधन, आफ्ना कार्यकर्तामाथि लगाइएका मुदा फिर्ता तथा बन्दीहरुको रिहाइ, सांसद रेशम चौधरीको शपथ ग्रहण, छानबिन आयोगको प्रतिवेदन सार्वजनिक लगायतको विषयहरु राजपा नेताहरुले प्रधानमन्त्रीसँग राखेका थिए।
'उहाँले हाम्रा विषयमा सकारात्मक प्रतिक्रिया दिनुभयो', भण्डारीले भने, 'उहाँ हाम्रो चासोमा सकारात्मक हुनुहुन्छ भन्ने हामीले पनि महसुस गर्यौं।'
फेरि भेटेर कुराकानी अगाडि बढाउने सहमति भएको उनले जानकारी दिए। 'त्यो भेटमा कसरी अगाडि बढ्ने भन्ने निर्क्यौल हुन्छ', उनले भने।
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला आज प्रधानमन्त्रीले राजपा नेताहरुलाई भेटवार्तामा बोलाएका थिए।
राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्रीसँग यो पहिलो भेटवार्ता हो।
दसैंअघि राजपा अध्यक्ष मण्डलका केही नेताले प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पूरा गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिए पनि संविधान संशोधन भने हुन सकेको छैन।
आजै दिउँसो १ बजे राजपा अध्यक्ष मण्डलको बैठकसमेत बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।